भन्सारमा विवाद गर्ने कोरियाबाट फर्केका श्रमिकले २ नभई ल्याएका थिए ४ ओटा मोबाइल

 


काठमाडौं । वैदेशिक रो‍जगारीमा ६ वर्ष दक्षिण कोरियामा बिताएर नेपाल फर्किएका स्याङ्जाका छविलाल भण्डारी (दमु दाइ) ले दुई नभई आफूले चार ‌ओटा फोन ल्याएको पाइएको छ । विमान स्थलमा दुई ओटा मोबाइल सेटका लागि ४४ हजार रुपैयाँ तिर्नुपरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि भाइरल उनी आफैंले यो कुरा स्वीकार गरेका हुन् । 

एयरपोर्टबाट उनले आफ्नो लगेजमा भए‍को २५ प्रतिशत सामान समेत हराएको आरोप लगाएका थिए । “पटक पटक एयरपोर्ट गएर सीसीटिभी हेरिदिन आग्रह गर्दा राम्रो कुरा समेत नगरेको कुराले म जस्ता वैदेशिक रोजगारीमा गएका सम्पूर्ण नेपालीलाई अत्यन्तै दुःखी बनाएको छ,” उनले लेखेका थिए । 

उनले फेसबुकमा पोस्ट गरेको फोटोमा एउटा प्रयोग भएको फोन (आईफोन १२ प्रो म्याक्स) र अर्को नयाँ फोन (आईफोन १४ प्रो म्याक्स) को रशिद रहेको थियो । जसका लागि भण्डारीले कूल ४४ हजार ७३४ रुपैयाँ भुक्तानी गरेको देखिन्थ्यो । 

उनले आइतबार अर्को एक पोस्ट राख्दै हराएको भनिएको सामान जापानबाट नेपाल फर्किएका व्यक्तिकोमा पुगेको उल्लेख गरेका छन् ।

यस विषयमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले भने, “हामीले पनि सामाजिक सञ्जालमा त्यो पोस्ट देखेका थियौं । उहाँले सुविधा स्वरूप दुई ओटा फोन निःशुल्क ल्याउन पाउनु भएको छ । अतिरिक्त फोनका लागि नियमअनुसार हामीले शुल्क लिएका हौं ।”

मन्त्रिपरिषद्‌को २६ वैशाख २०८० को निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले दुई थानसम्म मोबाइल फोन ल्याएमा कुनै पनि महसुल लाग्दैन । तर भण्डारीले दुई नभइ चार ओटा मोबाइल साथमा ल्याएका थिए । जसमध्ये बाँकी दुई फोनमा महसुल लगाइएको भन्सार कार्यालयले स्पष्ट पारेको छ । 

Comments