यिनै हुन कञ्चनपुरका गरिब आमाबुबाका दुई छोरीहरु, सँगै शाखा अधिकृतमा उत्तीर्ण बन्न सफल भएका बधाई छ।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका दुई दिदीबहिनीले शाखा अधिकृतमा नाम निकालेका छन्। २७ वर्षीया पार्वती भट्ट र उनकी बहिनी २५ वर्षीया बसन्ती भट्ट एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएपछि अहिले चर्चामा छन्।

अधिकृतमा नाम निस्किएको तीनचार दिन भइसक्दा पनि भट्ट दिदीबहिनीलाई अझै बधाई थाप्न भ्याइनभ्याइ छ। सामाजिक सञ्जाल, टेलिफोन तथा भेटेर उनीहरुलाई शुभचिन्तक, इष्टमित्रहरुले बधाई दिइरहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिदीबहिनीले शाखा अधिकृतको नियुक्ति पत्र र पदस्थापनाको पत्र बुझेका छन्। लामो मेहनतपछि पहिलो प्रयासमै दिदीबहिनी सँगै अधिकृत बन्न पाउँदा निकै खुसी छन्।

शाखा अधिकृतको नियुक्ति बुझेका पार्वती र बसन्ती अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै हाजिर भएका छन्।
उनीहरुको पारिवारिक अवस्था सामान्य छ। पार्वती र बसन्तीका दुई दाजु र दुई दिदी छन्। उनका जेठो दाइ जीवन भट्ट अपाङ्गता अधिकारकर्मी हुन् भने अर्का दाजु पुष्पराज भट्ट ‘डिभी लटरी’ परेर अमेरिकामा छन्।

‘म स्नातक तहसम्म पढ्दा पनि हाजिरी जवाफमा सहभागी हुन्थेँ। विद्यालयमा हुने हाजिरी जवाफमा जति समूह बने पनि अन्तिममा हामी दिदीबहिनीको समूहमा नै प्रतिस्पर्धा चल्थ्यो,’ विद्यालयका दिन सम्झिँदै पार्वती भन्छिन्, ‘जागिर खाने बेला पनि प्रतिस्पर्धा नै चल्यो। सुरुमा मैले नाम निकाले पनि अहिले दुवै अधिकृत बनेका छौँ।’

Comments