
यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो । उनीहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् ।
ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको उनीहरूको आरोप थियो। ट्राफिक प्रहरीले मनोमानी गर्न नहुने भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिएका थिए।
आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ। यातायात व्यवसायीले प्रदर्शन गरेपछि काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ । यातायात व्यवसायीले प्रहरीको भ्यानसमेत जलाइदिए पछि स्थिती थप तनाबग्रस्त बनेको हो ।
साथै यातायात मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज चक्रपथका विभिन्न खण्डमा सडकमै गाडी रोकेर प्रदर्शन गरेका छन् । प्रहरीमाथि मजदुरहरूले इँटा र ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको छ । अहिले सडकमा टायर बालेर प्रदर्शन गरिएको छ ।
Comments