
काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि मृत्यु भएको छ । उनी माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन प्रस्थान गरी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् ।
‘बिहान १० बजे काठमाडौं एयरपोर्टबाट मम्मीलाई फोन गरेर पोखरा जाँदैछु । उहाँ पुगेर आधा घण्टामा फोन गर्छु है भनेकी रहिछन् । तर उसको कहिल्यै फोन आएन,’ बागलुङस्थित घरमा रहेकी हीराले अनलाइनखबरसँग भनिन् । विमान दुर्घटनामा परेको खबर आएपछि नीराका बुवालगायत आफन्त बागलुङबाट पोखरातर्फ आइरहेको उनले जानकारी दिइन् ।
पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गरेकी थिइन् । त्यसअघिको अर्को स्टाटसमा उनले ‘उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।
सोही अनुरुप उनी बिहान पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उडिन् । तर, उनी सवार विमान दुर्घटना भयो । विमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोखराको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको छ ।
नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगता गर्ने कार्यक्रम थियो । त्यस अवसरमा नीराले सांगीतिक प्रस्तुति दिने तयारी थियो । विमान दुर्घनापछि कार्यक्रम गरिएको नेपाल छन्त्याल युवा संघ कास्कीका सचिव नवीन घर्ती छन्त्यालले बताए ।
नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये हालसम्म ११ जनाको सनाखत भएको छ
Comments