टोपी दिवसको शुभकामना दिदै अभिनेता नाजिर हुसेनले किन लेखे मनछुने स्टाटस

 


काठमाडौं । अभिनेता नाजिर हुसेनले नेपाली टोपी दिवसको शुभकामना दिँदै आफूलाई मान्छे बन्न दिन आग्रह गरेका छन् । नागरिकतामा लेखिएको आफ्नो नाम देख्ने बित्तिकै विभिन्न अनावश्यक प्रश्नहरूको सामना गर्नुपरेको दुखेसो पोख्दै उनले आफू मान्छे बन्न खोजिरहेको बताएका छन् ।

आइतवार सामाजिक सञ्जालमा ढाकाटोपी लगाएको तस्विरसहित स्टाटस् लेख्दै उनले नागरिकता वा पासपोर्टमा लेखिएको नाम पढेर विभिन्न अनावश्यक प्रश्नहरूको सामना गर्नुपरेको दुखेसो पोखेका हुन् । आफ्नो वंशजको नागरिकता वा पासपोर्टमा मोहमद नाजिर हुसेन नाम पढेर कतिपयले ‘तपाई इण्डियन मुस्लिम कि नेपाली मुस्लिम ?’, ‘तपाई हिन्दू कि मुसलमान ?’ जस्ता प्रश्नको सामना गर्नुपरेको गुनासो गरेका हुन् ।

ढाका टोपी (नेपाली टोपी) दिवसको सबैमा शुभकामना दिँदै सामाजिक सञ्जाल फेसबुकमार्फत नाजिरले आफू पनि यहिँ माटोको नेपाली रहेको बताउँदै देशको कुरा आउँदा अरुलाई जति दुख्छ आफूलाई पनि त्यति नै दुख्ने जवाफ दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्-

मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरु तपाई इन्डिएन मुस्लिम कि नेपाली मुस्लिम? तपाई हिन्दू कि मुसलमान ? ओहो, तपाई त तराईबाट आएको भएपनि नेपाली त स्पष्ट बोल्नु हुँदो रैछ ! फ्याट्ट उत्तर दिन मन लाग्छ हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा । मान्छे बन्न खोज्दैछु मान्छे बन्न दिनुस । सुन्नुस्म पनि यही माटोको हो मेरो शरीरमा पनि रगत नै हो बग्ने

देशको कुरा आउँदा तपाईँलाई जति दुख्छ मलाई पनि तेतिनै दुख्छ, तपाईँलाई जति खुसी लाग्छ मलाई पनि तेतिनै खुसी लाग्छ । हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने हाम्रो ढाका टोपी जस्तै सबैको सोच र विचार अग्लियोस् ! ढाका टोपी ( नेपाली टोपी ) दिवसको सबैमा शुभकामना ।



Comments