रविको समर्थन गर्दै पत्रकार प्रेम बाँनियाले भने : ‘के यो पृथ्वीकै ‘अनागरिक’ हुन रबि लामिछाने ?’

 


काठमाडौं –

प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले आज आयोगमा उजुर दर्ता गराएका हुन् ।

लामिछानेसँग नेपाली नागरिकता नै नभएको भन्दै उनले पार्टीको सभापति र सो दलको साधारण सदस्यता तत्काल खारेज गर्न भनेका छन् ।दल दर्ता गर्न पाउने अधिकार नेपाली नागरिकसंग मात्र भएको स्मरण गराउँदै उनले आयोगबाट भएको त्रुटिले स्तब्ध बनाएको बताएका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन पाउने अधिकार नेपाली नागरिकसंग मात्रै हुने कानुनी व्यवस्थाविपरीत नेपाली नागरिक नै नभएको रवि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगबाट हुन गएको त्रुटिबाट म स्तब्ध छु’,पत्रमा भनिएको छ ।

यो उजुरी संगै पत्रकार प्रेम बानियाले पनि फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘के यो पृथ्वीकै ‘अनागरिक’ हुन रबि लामिछाने ?’

रबि जी मेरा यस्ता साथी हुन् कि यिनलाई म माया र गाली दुबै मज्जाले गर्नसक्छु ।
के म सप्रमाण प्रस्तुत गरौं नेपाल सरकारको मन्त्रीपरिषद्मा रहेका कति जना मन्त्रीहरुको गोजि र सिरानीमा पीआर वा विदेशी नागरिकता छ ? नेपाल आर्मीका कति जना पूर्वचिफ, अफिसरहरु, प्रहरीका बरिष्ठ अधिकारीहरु, सांसद्हरु र ककस्को गोजिमा विदेशको पीआर वा नागरिकता छ ?

किन रबिजीलाई च्याप्न खोजेको ? सक्छौ भने अमेरिकी सरकारलाई प्रश्न सोध कि रबिजी कहिलेदेखि कहिलेसम्म अमेरिकी नागरिक थिए ? वा कहिलेदेखि कहिलेसम्म नेपाली नागरिक थिए भनेर आफ्नै पोल्टाको कागज पल्टाए भयो त ? कहिले छोडे उनले अमेरिकी नागरिकता ? कसरी छोडे ? छोडेर उनले कुन देशको नागरिकता लुटे ? के यो पृथ्वीकै ‘अनागरिक’ हुन रबि लामिछाने ? नत्र, न्यायको प्राकृतिक सिद्दान्तअनुसार कोही मान्छे कसरी संसारकै अनागरिक हुनसक्छ ?

यो बेकारको बहसमा सिंगो नेपाली समाजलाई किन अल्झाएको ? के नेपालको सर्वोच्च अदालतले भन्न सक्छ नेपालमा जन्मिएको एउटा सन्तानले केही समयको लागि अर्कै देशको नागरिकता लिएको थियो, उस्ले छोड्यो अनि ऊ नेपाली नै रहेन ? के कुरामा हामी ‘कुरा’ गरिरहेका छौं ? त्यो एनआरएनए भन्ने पनि छ यो दुनियाँमा ? बहस गर्न सकिन्न ? यति गम्भीर विषयमा संसारभर छरिएर रहेका नेपालीहरु जो उस्तै स्थितीमा छन् ।

के हुन्छ ? अनुमान छ ? म त गर्वसाथ जिन्दगीभर मेरो देशको नागरिकता प्राण रहुन्जेल च्यात्ने छैन भनेर बाँचेको छु, बाँच्नेछु ।विवशताका अरु हजारौं नेपालीहरुबारे अब कस्ले बोल्छ ? अब देश वास्तविक परिवर्तनको बहसमा आइपुगेको छ ।बोलौं साथीहरु, बोलौं ।
रबि जी मेरा यस्ता साथी हुन् कि यिनलाई म माया र गाली दुबै मज्जाले गर्नसक्छु ।



Comments